FAQs Complain Problems

३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रमका गरि भव्यताका साथ सम्पन्न

सुन्दरबजार नगरपालिकाले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा “नृत्य प्रतियोगिता तथा चित्रकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम” सु.न.पा. ०७ लमजुङ कृषि क्याम्पसको सभाहल, सुन्दरबजारमा भाद्र २३ गते, सु.न.पा. का उपमेयर श्री ज्ञानु शाहज्यूको प्रमुख आतिथ्यतामा, सु.न.पा. का प्रमुख प्रशासकिय अधिकृत श्री प्रेमराज गिरीज्यूको विशेष आतिथ्यतामा र सु.न.पा. का शिक्षा विभागका प्रमुख श्री कृष्णराज खनियाँज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
सु.न.पा. का आन्तरिक लेखा परीक्षक(ना.सु.) श्री दिपेन्द्र पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा सेवा निवृत्त हुनुभएका शिक्षकहरुको सम्मान, SEE/DLE को परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थी तथा बिद्यालयहरुलाइ नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । करिब २०० भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न बिद्यालयका बिद्यार्थीहरुले नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए । सहभागी बिद्यालयहरु मध्ये श्री बिद्याज्योती मा.वि. खहरेले पहिलो स्थान, श्री सयपत्री मा.वि. सुन्दरबजारले दोश्रो स्थान र श्री बालज्योति मा.वि. सुन्दरबजारले तेश्रो स्थान हासिल गर्न सफल भएका थिए ।
सुन्दरबजार नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत सबै अतिथिहरुलाई सु.न.पा. का शिक्षा शाखा प्रमुख श्री वीर बहादुर गुरुङले प्रगति सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा श्रोत व्यक्ति श्री भरत बा. अधिकारीले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, नगरपालिकाका सदस्यहरु, शिक्षक महासंघ लगायत शिक्षकका विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, व्यवस्थापन समितिका अध्यक्षहरु, सेवा निवृत्त शिक्षकहरु, शिक्षा क्षेत्रमा योगदान पुराएका व्यक्तित्वहरु र विभिन्न बिद्यालयहरुका बिद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रमका बिशेष अतिथि सु.न.पा. का प्रमुख प्रशासकिय अधिकृत श्री प्रेमराज गिरीज्यूले शिक्षकहरुको मागलाई मध्यनजर गरी शिक्षा क्षेत्रमा रहेका कमि कमजोरीहरुलाई मनन गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिका सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्येसैगरी कार्यक्रमका प्रमुख अतिथि ज्ञानु शाहज्यूले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले आर्थिक, सामाजिक र भौतिक रुपमा सदैव सहयोग गरिरहने र शिक्षा बलियो बनाउन हामी सबैजना एक भएर लागि पर्नुपर्ने कुरामा जोड दिनुभयो र अन्त्यमा हरितालिका तिजको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष एवम सु.न.पा. का शिक्षा विभागका प्रमुख श्री कृष्णराज खनियाँज्यूले दक्ष जनशक्ति उत्पादनमा नगरपालिकाले ध्यान दिने, शिक्षकले नया प्रबिधि सिक्दै बिद्यार्थीलाई सिकाउने गरेमा नै शिक्षाको गुणस्तर बढ्नेहुदा यसका लागि नगरपालिकाले उचित रकम शिक्षा क्षेत्रमा विनियोजन गरि शैक्षिक क्षेत्रको प्रगतिमा निरन्तर लाग्ने प्रतिबद्दता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।